१७ चैत, इलाम । माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आजदेखि इलाममा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक माइभ्याली फुटबल क्लब इलाम र विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं खेल्दैछन् । इलामको ठूलो टुँडिखेलमा हुने प्रतियोगिताको उपाधि विजेताले नगद चार लाख रुपैयाँ तथा उपविजेताले नगद साढे दुई लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई १ सय ५० सिसिको यमाहा मोटरसाइकल प्रदान गरिने जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरोज खड्कीले बताउनुभयो । प्रतियोगितामा नेपाल र भारतका गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १६, २०७३