१७ चैत, काठमाडौँ । बार्सिलोनाले अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीमाथि लागेको चार अन्तर्राष्ट्रिय खेल प्रतिबन्ध अन्यायपूर्ण रहेको जनाएको छ । विश्वकप छनौट अन्तर्गत गएको शुक्रबार बिहान चिलीसँग भएको खेलको क्रममा मेस्सीले लाइन्स म्यानलाई अपशब्द बोलेकाले उनीमाथि चार खेलको प्रतिबन्ध लागेको छ । मेस्सी बिना खेलेको अर्जे्न्टिना बुधबार बिहान भएको खेलमा बोलिभियासँग २–० ले पराजित भयो । मेस्सीको क्लब बार्सिलोनाले उनीमाथिको प्रतिबन्ध असमानतापूर्ण रहेको आरोप लगाएको छ । अन्तर्रा्ष्ट्रिय खेलमा प्रतिबन्ध लागे पनि उनी क्लबबाट भने खेल्न पाउने छन् । बार्सिलोनाले एक वक्तव्य जारी गरेर फिफाको अनुशासन सम्बन्धी नियमप्रति आश्चर्य र आक्रोश व्यक्त गरेको छ ।अर्जे्न्टिनाले मेस्सीमाथि लागेको प्रतिबन्ध विरुद्ध अपिल गरेको छ । बार्सिलोनाले अपिलको निर्णय मेस्सीको पक्षमा आउने आशा व्यक्त गरेको छ । बोलिभियासँगको हारपछि अर्जे्न्टिना १० देश सहभागी दक्षिण अमेरिकी क्षेत्रको छनौटको पाँचौं स्थानमा झरेको छ । अब चार खेल खेल्न बाँकी रहेकोमा मेस्सी तीन खेलमा मैदान बाहिर हुनेछन् ।
प्रकाशित मिति: बुधबार, चैत १६, २०७३