१५ चैत, काठमाडौँ । एसीसी इमर्जिङ कप क्रिकेट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल अहिले बंगलादेशसँग खेलिरहेको छ । घरेलु टोली बंगलादेशबिरुद्ध टस जितेर बलिङ गरिरहेको नेपालले उसको आठौं विकेट लिएको छ । नेपाली कप्तान तथा पार्टटाइम बलर ज्ञानेन्द्र मल्लले बंगलादेशको आठौं विकेट लिएका छन् । उनले राहतुल जावेदलाई ४ रनको व्यक्तिगत स्कोरमा आउट गराएका हुन् । यसअघि बंगलादेशको सातौं विकेटमा पनि कप्तान ज्ञानेन्द्र मल्लकै योगदान रहृयो । युवा स्टार सन्दिप लामिछानेको बलमा मल्लले बंगलादेशका सइफ उद्धिनलाई रन आउट गराएका थिए । नेपालका लागि सन्दिप लामिछानेले पाचौं र छैटौं विकेट लिएका थिए । यसअघि ओपनिङ बलर अभिनाश कर्णले सुरुवाती पाँच ओभरमै तीन विकेट लिएर बंगलादेशलाई दवावमा ल्याएका थिए । ११ औं ओभरमा मेहवुव आलमले विकेट लिएका थिए । बंगलादेशले अहिलेसम्म ४४ ओभरमा ८ विकेट गुमाएर १९६ रन जोडेको छ । एउटा एण्डबाट विकेट गएपनि अर्को एण्डबाट खेलिरहेका नसिर हुसेनले उत्कृष्ट प्रदर्शन गर्दै ७७ रन जोडिसकेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७३