१४ चैत, काठमाडौँ । एसीसी इमर्जिङ कपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल पाकिस्तान यू–२३ टोलीसँग ६ विकेटले पराजित भएको हो । बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानी टोलीका लागि इमाम उलहकले १०४ रन बनाए । उनले १३५ बलमा ९ चौका प्रहार गरे । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा २ विकेट झारे भने युवा स्टार सन्दिप लामिछानेले पनि २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८० रनको योगफल तयार गरेको थियो । सुरुवाती तीन व्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी व्याट्सम्यान शरद भेषावकरले इनिङ सम्हालेका थिए । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७३