९ चैत, काठमाडौँ । श्रीलंकाका चर्चित ब्याट्सम्यानहरु सम्मिलित टिम र नेपाली राष्ट्रिय क्रिकेट टिमबीच ट्वेन्टी–२० क्रिकेट शृंखला हुने भएको छ । नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसर पारेर पेरिविंकल सर्भिसले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तीन खेलको मैत्रीपूर्ण टी–२० शृंखला गर्न लागेको हो । श्रीलंकाको टिमले ‘लंकन लाइन्स’को नामबाट खेल्दै गर्दा पूर्वकप्तान अरविन्दा डे सिल्भाले नेतृत्व सम्हाल्नेछन् ।
उक्त टिमबाट सनथ जयसूर्या, चामिन्डा भास, रोमेश कालुविर्थना, दिलहारा फर्नान्डो, उपुल चन्दना, कौशल्या वैरारत्ने, फरभेज महरुफ, उपुल थरंगा, रंगना हेराथ, दिलशान मुनावेरा, सचित्रा सेनानायक र चामरसा सिल्भादाराले खेल्नेछन् । नेपालले ‘गोर्खा राइनोज’को नामबाट खेल्दा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेतृत्व सम्हाल्नेछन् । गोर्खा राइनोजमा सबै राष्ट्रिय टिमका खेलाडीहरु नै हुने जनाइएको छ । वैशाख १४ देखि १८ गतेसम्म हुने सो शृंखलाका लागि दर्शकलाई कमभन्दा कम मूल्यमा टिकट उपलब्ध गराउने आयोजक पेरिविंकल सर्भिसका सीइओ दीपेश घलेले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७३