विराटनगर : मोरङ र सुनसरीमा बर्ड फ्लु फेलापरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेका कुखुरा फर्ममा बर्ड फ्लु फेलापरेको हो । दुवै फर्ममा बर्ड फ्लु फेलापरेपछि त्यहाँ रहेका कुखरा नष्ट गरिएको छ ।
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुनसरीको इटहरी– १८ मा रहेको बी एण्ड जी अर्गानिक कृषि फर्म र मोरङको सुन्दरहरैँचा– ११ मा सीता अर्जुन बहुउद्देशीय सहकारीले सञ्चालन गरेको कुखुरा फर्ममा बर्ड फ्लु भेटिएको थियो । बर्ड फ्लु भेटिएपछि दुई फर्मका सबै कुखुरा नष्ट गरी उच्च सतर्कता अपनाइएको मन्त्रालयले जनाएको छ ।
इटहरी– १८ लविपुर टोलमा सञ्चालित बी एण्ड जी अर्गानिक कृषि फर्मका करिब साढे ८ सय हाँस र लोकल कुखुरा नष्ट गरिएको छ । त्यस्तै, सुन्दरहरैँचा नगरपालिका– ११ मा रहेको फर्मका एक हजार ८२३ लेयर्स कुखुरा नष्ट गरिएको छ । फर्ममा रहेका कुखुरालाई नष्ट गरी सिल गरिएको छ । सिल गरेको खोरलाई ४५ दिनसम्म बन्द गरिनेछ ।
स्थानीय प्रशासनले बर्ड फ्लु भेटिएको स्थानदेखि तीन किलोमिटर आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सुनसरीको इटहरीमा रहेको फर्ममा केही दिनअघि अचानक कुखुरा मर्न थालेपछि भेटेरनरी टोलीले गरेको परीक्षणमा बर्ड फ्लु भएको पुष्टि भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले मन्त्रालयसँग समन्वय गरी जिल्लामा रहेका अन्य फर्महरूको अनुगमन पनि सुरु गरेको जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५