काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले बलात्कार र हत्या अभियोगमा अछामबाट दुई जनालाई पक्राउ गरेपछि घटना अनुसन्धान नयाँ तरिकाले अगाडि बढ्ने देखिएको छ ।
कञ्चनपुर घटनाको अनुसन्धानमा खटिएको टोलीले पक्राउ गरेका दुई जनाले दिएको बयानका आधारमा घटना अनुसन्धान नयाँ तरिकाले अघि बढ्ने आधार मिलेको सिआइबी अधिकारीहरू बताउँछन् ।
निर्मलाको हत्या हुनुअघि कञ्चनपुरमै बस्ने गरेका उनीहरू दुवै निर्मलाको बलात्कारपछि हत्या भएलगत्तै कञ्चनपुरबाट भागेर गृहजिल्ला अछाम गई बस्दै आएका सिआइबीको दाबी छ ।
उनीहरूको बयान शंकास्पद देखिएपछि सिआइवीको टोलीले थप अनुसन्धानका लागि दुवै जनालाई आज काठमाडौं ल्याउँदै गरेको बताइएको छ ।