काठमाडौं : दीपक कटुवालको अमेरिका जाने ठूलो सपना थियो । भाग्यले साथ दियो, सपना साकार हुने भयो । उनले भरेको डिभी चिट्ठा पर्यो । डिभी परेपछि नेपालस्थित अमेरिकी दूताबासमा पेस गर्नुपर्ने कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पनि हात पारे । तर अन्ततः उनको सपना चकनाचुर भयो । उनी अहिले अनुसन्धानका लागि थुनामा पुगेका छन् ।
काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राखेर अनुसन्धान गर्ने आदेश गरेको छ । कारण, उनले दूताबासमा पेस गरेको कक्षा १२ पासको प्रमाणपत्र नक्कली रहेछ ।
जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सोमबार थुनछेक बहसपछि कटुवाललाई अनुसन्धानका लागि थुनामा पठाएको छ ।
उनले पेस गरेका कागजातहरू नक्कली भएकाले कार्वाही गरिपाऊँ भन्दै अमेरिकी दूताबासले प्रहरीमा जाहेरी दर्ता गरेको थियो । कटुवाललाई सन्दीप भन्ने व्यक्तिले नक्कली प्रमाणपत्र बनाइदिएका थिए । उनले फागुन ७ मा कक्षा १२ पास गरेको प्रमाणपत्र दूताबासमा पेस गरेका थिए ।
दूताबासले नक्कली भएको शंका गरेपछि राष्ट्रिय परीक्षा बोर्डमा पठायो । परीक्षा बोर्डले प्रमाणपत्र नक्कली भएको भन्दै ‘नो भेरिफिकेसन’ पठायो ।
‘जाहेरी दरखास्त, प्रहरी प्रतिवेदन, राष्ट्रिय परीक्षा बोर्डको पत्र, प्रतिवादीको अनुसन्धान, अदालतमा भएको बयान, घटना विवरण, कागजमा उल्लेखित व्यक्तिहरूले गरिदिएको कागजलगायतका प्रमाण अध्ययन गर्दा’, जिल्ला अदालतको आदेशमा भनिएको छ, ‘अभियोग हेर्दा कसुर ठहर भएमा सात वर्षसम्म कैद हुनसक्ने देखिएकाले हाललाई दीपक कटुवाललाई मुद्दाको पुर्पक्षका लागि कानुनबमोजिम सिधा खान पाउने गरी स्थानीय कारागारमा थुनामा राख्न पठाइदिनू ।’
अदालतले मुलुकी कार्यविधि संहिता, २०७४ को दफा ७९ बमोजिम आदेश गरेको हो ।
अदालतले अमेरिकी राजदूताबासका जेम्स ग्वान्चीलाई बकपत्रका लागि उपस्थित हुनसमेत आदेश गरेको छ । दूताबासमा कार्यरत सुरक्षा अनुसन्धान अधिकृत जेम्सलाई कूटनीतिक विशेषाधिकार लागू हुने, नहुने भन्ने विषयमा परराष्ट्र मन्त्रालयबाट खुलाएर बकपत्रका लागि उपस्थित हुन आदेशसमेत भएको हो ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५