काठमाण्डौ : मंगलबार बिहान देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । सोमबार भित्रिएको पश्चिमी वायुसँग स्थानीय वायु मिसिएकले सोमबार रातिदेखि नै धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार राति पश्चिममा मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली अहिले मध्य क्षेत्रमा आइपुगेको छ । यसकै असरले काठमाडाैंसहित मध्य र पश्चिमका धेरै ठाउँमा पानी परिरहेको उनले जानकारी दिए ।
यो प्रणाली पूर्वतिर सरिरहेकाले मंगलबार देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । कतैकतै मौसम एकैछिन खुले पनि फेरि बदली भई मेघगर्जन र हावाहुरी चल्ने छ । तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको अर्यालले जानकारी दिए ।
प्रिमनसुनको समयमा पानी पर्दा चट्याङ पनि पर्ने भएकाले सावधानी अपनाउन मौसमविद अर्यालको सुझाव छ । मंगलबार रातिदेखि नै मौसममा सुधार आउन सक्ने उनले जनाए ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५