पोखरा ः पोखराबाट काठमाडौंका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका ४ बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक समिति, नेपाल माइक्रोबस सञ्चालक समिति, सगुन यातायात सञ्चालक समिति र शुभयात्रा यातायात सञ्चालक समितिले यहाँको सस्तोबजारमा एउटै काउन्टर सुरु गरेका हुन् ।
यसअघि नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको जग्गा ७ वर्षका लागि भाडामा लिएर छुट्टाछुट्टै २ काउन्टर सञ्चालन हुँदै आएकामा सो स्थानमा बैंकले भवन निर्माण गर्न लागेकाले काउन्टर सार्नुका साथै थप २ काउन्टरको संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याइएको हो । सो काउन्टर शुभारम्भका क्रममा जिल्ला प्रहरी प्रमुख ओम रानाले सुरक्षित यात्राका लागि लगानीकर्ता, चालक तथा सहचालक र यात्रु सबैको संयुक्त प्रयास आवश्यक हुने धारणा व्यक्त गरे ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साईले सुरक्षित, स्तरीय र सहज यात्राका लागि आफूहरू प्रतिबद्ध भएको बताउँदै यातायात व्यवसायीमाथि राज्यको दृष्टिकोण सकारात्मक रहेको बताए । पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले राज्यको खुला बजारको अवधारणाअनुरूप आफूहरू कम्पनीमा रूपान्तरण हुने प्रक्रियामा रहेको बताए ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५