पर्वत ः पर्वतमा भूकम्पपछिको पुनर्निर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका ७ जनाले अनुदान रकम फिर्ता गरेका छन् । पूर्ण क्षतिको विवरणमा परेर घर निर्माणका लागि भन्दै पहिलो किस्ता लगेर घर नबनाएकाले उक्त रकम फिर्ता गरेका हुन् ।
भूकम्प पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालयका अनुसार फिर्ता गर्नेमा कुश्मा नगरपालिकाबाट ६ जना र फलेवास नगरपालिकाका १ जनाले रकम फिर्ता गरेका हुन् । पहिलो किस्ता लगेर पनि घर निर्माण नगरेकालाई गत भदौदेखि कार्यालयले रकम फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । कम क्षतिको सूचीमा परेको पर्वतमा निजी आवास पुनर्निर्माण गर्नुपर्ने लाभग्राहीको सूचीअनुसार उपलब्धि निकै न्यून भएको पाइएको छ । जिल्लाका सबै स्थानीय तहमा गरी पूर्ण क्षति भएका लाभग्राहीको सङ्ख्या ५ हजार २६९ रहेको छ ।
अहिलेसम्म घर निर्माण सम्पन्न गरेका १६४ छन् । लाभग्राहीको सूचीमा सूचीकृतमध्ये ४ हजार ९५० ले पहिलो किस्ताबापतको ५० हजार लगेका थिए । दोस्रो किस्ता लिनेको सङ्ख्या २ हजार ३७४ छ । भूकम्प गएको ४ वर्ष पुग्नै लाग्दा पनि निजी आवास पूर्णरूपमा सम्पन्न गर्नेको सङ्ख्या भने जम्मा १६४ रहेको छ ।
कतिपय भूकम्पपीडितले घर बनाउन प्राविधिक स्टिमेटसमेत गराउन पाएका छैनन् ।
जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन कार्यालयका अनुसार सबैभन्दा बढी घर निर्माण मोदी गाउँपालिकामा भएको छ । मोदीमा ४९ ले घर निर्माण सकेर तेस्रो किस्ता लिइसकेको कार्यालय प्रमुख रामआशिष शाहले जानकारी दिए । ‘कतिपयले घर बनाइसकेर पनि हिसाब राफसाफ भएको छैन,’ उनले भने, ‘घर बनाइसकेकालाई हामीले तेस्रो किस्ता लिन बोलाइरहेका छौं ।’
कुश्मा नगरपालिकामा ३१, जलजलामा २८, महाशिलामा १५ र बिहादी गाउँपालिकामा ३२ ले घर निर्माण सकेर तेस्रो किस्ता लिइसकेका छन् । फलेबास नगरपालिका–८ को अर्चलेका २० घरधुरीको वासस्थान नै असुरक्षित भएपछि उनीहरूलाई एकीकृत बस्तीमा स्थानान्तरणको प्रक्रिया सुरु भएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५