काठमाडौ : महानगरीय प्रहरी अपराध महाशाखाले चरेससहित दुई जनालाई पक्राउ गरेको छ । धादिङको थाक्रेका रामचन्द्र परियार र सानुभाइ दर्जीलाई चार किलो ६३० ग्राम चरेससहित पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ ।
लागुऔषध चरेसको कारोवार गर्ने गरेको भन्ने सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले चलाएको खोजी अभियानका क्रममा काठमाडौँ महानगरपालिका–१५ चमतीमा उनीहरुलाई पक्राउ गरिएको हो ।
सानुभाइ दर्जीको कोठा खानतलासी लिँदा झोलाबाट नौ वटा प्याकेटमा चार किलो ६३० ग्राम चरेस फेला परेको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिए । पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमान्डाै पठाइएको उनले बताए । -रासस
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५