चितवन: नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र र संघीयताबारे जनमत संग्रह गर्नुपर्छ भनेर आफुले नभनेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।’ बुधबार आफ्नै निवास टोखामा होलीका अवसरमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले संघीयता र गणतन्त्रका बारेमा पनि जनताले माग गरेमा जनमत संग्रहमा जान सकिने बताएका थिए । सो विषयलाई उनले चितवन आएर खण्डन गरेका हुन् ।
उनले धार्मिक स्वतन्त्रताको पक्षमा भने जनमत सङ्ग्रह गर्न सकिने बताए । हिन्दू राज्यका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको बताए । सरकारले नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउनु गलत भएको उनको भनाई थियो । वार्ता र सम्वादमार्फत् समस्याको सामाधान खोज्नुपर्नेमा प्रतिबन्ध लगाउनु गलत भएको कोइरालाले बताए ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५