राँझा : सरकारी जग्गा व्यक्तिको निजी नाममा नामसारी गर्न सक्रिय भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले ८ सरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।
सरकारी जग्गाको कागजात किर्ते गरेको आरोपमा गए राती भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका ८ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
मालपोत कार्यालयका नायब सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायब सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी, मालपोत कार्यालय बाँकेबाट हाल हुलाक कार्यालय बाँकेमा सरुवा भएकी अधिकृत पुष्पा श्रेष्ठलाई पनि बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेका व्यक्तिले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । उनीहरू जग्गा किर्तेमा मात्र नभई शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा समेत संलग्न रहेको आशंका देखिएकाले केही दिनभित्रै सबै तथ्य बाहिर आउने उनले बताए ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरूको बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।
सेवाग्राहीको भीडभाड हुने भूमिसुधार तथा मालपोत कार्यालयका ५ कर्मचारी पक्राउ परेपछि कार्यालयको काम प्रभावित हुने भएको छ । तर बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाहमा समस्या आउने स्थिति आए अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पारिने बताए ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५