अदिस अबाबा । गत साता एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शब पहिचान गर्न कम्तिमा ६ महिनासम्म लाग्ने भएपछि दाहसंस्कारका लागि दुर्घनास्थलको माटो परिवारलाई दिइने भएको छ ।
सो दुर्घटनामा परी १ सय ५७ जनाको मृत्यु भएको थियो । अब अन्तिम संस्कारका लागि उनीहरुका परिवारलाई दुर्घटनास्थलबाट संकलित डढेको माटो दिन लागिएको हो ।
अदिस अबाबामा आयोजित एउटा शोकसभाका लागि दुर्घटना भएर विमान खसेको स्थानबाट संकलित माटो उपलब्ध गराउन लागिएको हो । मार्च १० मा दुर्घटनामा परेपछि बोइङ कम्पनीले निर्माण गरेको ७३७ म्याक्स ८ र ९ मोडलका विमानहरूलाई संसारभरि उडाउन प्रतिबन्ध लागेको छ ।
दुर्घटनामा परी संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रममा कार्यरत नेपालकी एकता अधिकारीको पनि मृत्यु भएको थियो । सो विमान दुर्घटनाको कारण पनि पत्ता लागेको छैन । विमान दुर्घटनामा ज्यान गुमाएकाको मृत्युको प्रमाणपत्र भने दुई साताभित्र उपलब्ध गराउने तयारी भएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५