काठमाडौं । बंगलादेशको गोपालगञ्जमा बुधबार भएको एक शान्तिपूर्ण र्याली हिंसात्मक झडपमा परिणत हुँदा सुरक्षाकर्मीको गोली प्रहारमा परी ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्।
झडपको केन्द्रबिन्दु बनेको यो र्याली नयाँ राजनीतिक शक्ति **नेसनल सिटिजन पार्टी (एनसीपी)**का समर्थक युवाहरूको नेतृत्वमा गरिएको थियो। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृह जिल्ला हो, जहाँ तनाव झनै चर्किएको देखियो।
प्रोथोम आलोका अनुसार, एनसीपीको र्यालीका क्रममा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगका समर्थकहरू प्रहरीसँग भिडेका थिए। प्रत्यक्षदर्शीहरूका भनाइमा उनीहरूले लाठी, ढुंगा र इँटा प्रयोग गर्दै प्रहरी, सेना र अर्धसैनिक बलमाथि आक्रमण गरे। यस क्रममा प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोडसमेत भएको थियो।
स्थिति नियन्त्रणमा लिन सुरक्षाबलले अश्रुग्यास, साउन्ड ग्रिनेड र अन्ततः गोलीसमेत चलाए। गोली लागेर मृत्यु हुनेहरूमा दीप्टो साहा (२५), रमजान काजी (१८) र सोहेल मोल्ला (४१) को पहिचान खुलेको छ। उनीहरूलाई गम्भीर अवस्थामा गोपालगञ्ज जनरल अस्पताल पुर्याइएको थियो।
उक्त हिंसा र डरका बाबजुद पनि एनसीपीले गोपालगञ्जमा र्याली सम्पन्न गरेको छ। क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमबीच पार्टी नेताहरूले जनतालाई सम्बोधन गरेका थिए।
एनसीपीका संस्थापक तथा संयोजक नाहिद इस्लामले चेतावनी दिँदै भने, “यदि सुरक्षा निकायहरूले न्याय दिन सकेनन् भने हामी आफैंले न्याय लिन्छौं।”
पार्टीका नेता सरजिस आलमले फेसबुकमा लेखे, “गोपालगञ्जमा हसिनाका समर्थक गुन्डाहरूले हामीमाथि हमला गरे, र प्रहरी तमासे भएर हेरेर मात्र बस्यो।”
स्थिति बिग्रँदै गएपछि प्रधानमन्त्री कार्यालयले गोपालगञ्जमा राति ८ बजेदेखि २२ घण्टाका लागि कर्फ्यु आदेश जारी गरेको छ। अर्धसैनिक बल बीजीपीका २०० सैनिक त्यहाँ खटाइएका छन्।
एनसीपी बंगलादेशमा हालै उदाएको नयाँ विद्यार्थी नेतृत्वमा आधारित राजनीतिक दल हो, जुन २०२५ फेब्रुअरी २८ मा गठन भएको थियो। यस पार्टीलाई अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसको पनि समर्थन प्राप्त छ।
युनुसले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेखे, “युवाहरूको शान्तिपूर्ण र ऐतिहासिक आन्दोलन मनाउन नदिइनु मौलिक अधिकारको गम्भीर उल्लंघन हो।” उनले हिंसाको दोष शेख हसिनाको पार्टी र यसको छात्र संगठनमाथि थोपरे।
उनले भने, “अपराधीहरूलाई चाँडै पहिचान गरेर पूर्णरूपमा कानुनी जवाफदेही बनाइनुपर्छ। हिंसाको संस्कृति बंगलादेशका नागरिकका लागि स्वीकार्य हुन सक्दैन।”
युनुसले युवाहरूको साहस र दृढताप्रति सम्मान प्रकट गर्दै र्याली जारी राख्नु नै लोकतन्त्रप्रतिको आस्था भएको टिप्पणी गरेका छन्।
प्रकाशित मिति: बिहीबार, साउन २, २०८२