म्याड्रिड । स्पेन यस वर्षको अगस्ट महिनामा इतिहासकै सबैभन्दा तातो तापक्रमको साक्षी बनेको छ। राज्य मौसम विभाग (एएमईटी) का प्रारम्भिक तथ्याङ्कअनुसार अगस्ट ३ देखि १८ सम्मको औसत तापक्रम मौसमी मानकभन्दा ४.६ डिग्री सेल्सियस बढी रह्यो, जुन जुलाई २०२२ मा बनेको ४.५ डिग्रीको अघिल्लो रेकर्डलाई तोड्दै नयाँ कीर्तिमान हो।
एएमईटीका अनुसार अगस्ट ८ देखि १७ सम्म लगातार १० दिनसम्म तापक्रम तीव्र रूपमा बढेको थियो। यसलाई १९५० यताकै सबैभन्दा लामो र तिव्र गर्मीको लहर मानिएको छ। त्यस्तै, अगस्ट ११, १६ र १७ तारिखलाई १९४१ यताका सबैभन्दा गर्मी दिनका रूपमा दर्ता गरिएको छ।
स्पेनमा तापक्रम बढ्ने क्रम तीव्र हुँदै गएको देखिन्छ। सन् १९७५ देखि अहिलेसम्म ७७ पटक गर्मी लहरको घटना दर्ता भए पनि, तीमध्ये ५ वटा सन् २०१९ पछि मात्र देखिएका छन्। यस वर्षको गर्मीले मात्र एक हजारभन्दा बढी नागरिकको ज्यान लिएको सरकारको मृत्यु अनुगमन प्रणालीले जनाएको छ।
अत्यधिक तापक्रमसँगै विनाशकारी आगलागी पनि फैलिएको छ। युरोपेली वन अग्नि सूचना प्रणालीका तथ्याङ्कअनुसार करिब ४ लाख ६ हजार हेक्टर क्षेत्रफल जलेको छ, जुन सिंगापुरको आकारभन्दा ५.५ गुणा ठूलो छ। आगलागीका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।
यद्यपि अधिकांश विस्थापित घर फर्किसकेका छन्, अझै धेरै आगलागी नियन्त्रणबाहिर रहेका अधिकारीहरूले जनाएका छन्। निरन्तर बढ्दो तापक्रम र आगलागीले स्पेनमा जलवायु सङ्कटको गहिरो असर देखिन थालेको विज्ञहरूको चेतावनी छ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२