इस्तानबुल । रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि तेस्रो चरणको शान्ति वार्ता बुधबार टर्कीको इस्तानबुलमा हुने सम्भावना रहेको छ। सात हप्तापछि पहिलोपटक दुवै पक्ष वार्ताका लागि भेट्ने तयारीमा छन्, यद्यपि वार्ताबाट ठोस उपलब्धि हुने अपेक्षा निकै कम देखिएको छ।
यसअघि मे र जुन महिनामा भएको वार्ता निष्कर्षविहीन रहँदा युद्ध अन्त्यको आशा कमजोर भएको थियो। क्रेमलिनले वार्तामा सहभागी हुने बारे औपचारिक पुष्टि नगरे पनि यदि सहभागी भए चमत्कारी सफलता अपेक्षा नगर्न चेतावनी दिएको छ।
रुसले युक्रेनका चार क्षेत्रहरू, जसलाई उसले २०२२ को सेप्टेम्बरमा कब्जा गरेको दाबी गर्छ, त्यहाँबाट युक्रेनले फौज हटाउनुपर्ने माग अघि सारेको छ। यता युक्रेनले युद्धविराम नभएसम्म ती क्षेत्रबारे कुनै वार्ता नहुने स्पष्ट पारेको छ। साथै, २०१४ मा रूसद्वारा कब्जा गरिएको क्रिमियामा पनि आफूले कहिल्यै रुसको प्रभुत्व स्वीकार नगर्ने अडान दोहोर्याएको छ।
रुसी आक्रमण सुरु भएको २०२२ फेब्रुअरीदेखि युक्रेनका पूर्वी र दक्षिणी क्षेत्रमा व्यापक विनाश भएको छ भने हजारौँ सैनिक र सर्वसाधारणको ज्यान गएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कैदी आदानप्रदानका विषयमा छलफल गर्ने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता तयारी गर्ने आशा व्यक्त गरेका छन्। तर, मस्कोले त्यस्तो सम्भावित वार्ताअघि “धेरै गृहकार्य गर्न बाँकी रहेको” बताएको छ।
युक्रेनका पूर्वरक्षामन्त्री तथा वर्तमान सुरक्षा परिषद् सचिव रुस्तम उमरोभ वार्ता टोलीको नेतृत्व गर्दैछन् भने रुसतर्फबाट राजनीतिशास्त्री भ्लादिमिर मेडिन्स्की सहभागी हुनेछन्। मेडिन्स्की अघिल्ला वार्ताका पनि प्रतिनिधि थिए, तर युक्रेनले उनलाई ‘कठपुतली’ नेता भन्दै प्रभावहीन भनेको छ।
मे १६ र जुन २ मा भएका अघिल्ला वार्तामा दुबै देश कैदी आदानप्रदानमा सहमत भएका थिए र युद्ध अन्त्यका लागि प्रस्तावहरू साटासाट गरेका थिए। तर क्रेमलिनले युक्रेनी प्रस्तावलाई ‘पूर्णतया अस्वीकार्य’ भनेको छ।
युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै रुसलाई ‘५० दिन’को समयसीमा दिँदै सम्झौतामा पुग्न वा थप प्रतिबन्धको सामना गर्न चेतावनी दिएका थिए।
त्यसैबीच, रुसले पछिल्ला दिनहरूमा युक्रेनी सहरहरूमाथि आक्रमण तीव्र बनाएको छ भने केही क्षेत्रमा युद्धको अग्रपंक्तिमा आफ्नो पकड बलियो बनाएको दाबी गरेको छ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि वार्ताको ढोका खुल्ला राख्न दुवै पक्षलाई आग्रह गरेका थिए।
स्रोत: रासस/एएफपी
प्रकाशित मिति: बुधबार, साउन ८, २०८२