काठमाडौं । नेकपा (एमाले) ले वर्तमान सरकारले प्रतिनिधि सभा निर्वाचन गराउने कुनै तयारी नगरेको आरोप लगाउँदै ‘पुरानो जनमत ब्युँतिनुको विकल्प छैन’ भन्ने सात बुँदे राय निर्वाचन आयोगमा पेस गरेको छ।
आयोगले बोलाएको सर्वदलीय बैठकमा एमाले उपाध्यक्ष गुरु बराल र निर्वाचन विभाग प्रमुख निरज आचार्यले पार्टीको धारणा प्रस्तुत गर्दै सरकार ‘उल्टो बाटोमा हिँडिरहेको’ टिप्पणी गरेका छन्।
एमालेले आयोगमा बुझाएको सात बुँदे धारणा यस्तो छ :
१. सरकार चुनाव गराउने तयारीमा छैन
एमालेका अनुसार सरकारले २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व पूरा गर्न आवश्यक काम गरेको छैन। बरु राजनीतिक दलहरूलाई निषेध गर्ने, उनीहरूको कार्यक्रम नियन्त्रण गर्ने, अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने काम गरिरहेको पार्टीको आरोप छ।
२. मनाङमा चुनाव गराउन नसक्नु सरकारले चुनाव नचाहेको प्रमाण
कात्तिक १७ गतेका लागि तय भएको मनाङ प्रदेशसभा उपनिर्वाचन गराउन नसक्नु नै सरकारले निर्वाचनबाट टाढा राख्ने योजना बनाएको पुष्टि हो, एमालेले उल्लेख गरेको छ।
३. समान अवसरको अभाव र आयोगमाथि दबाब
एमालेले सबै दललाई समान अवसर नदिइने, केही दललाई डराउने, मुद्दा लगाउने र आयोगमाथि पनि राजनीतिक दबाब बढाइएको आरोप लगाएको छ। पार्टीले निष्पक्ष र भयमुक्त वातावरणमा सबै दल सहभागी हुने अवस्था बनाउन सरकार र आयोग दुवैले जिम्मेवारी वहन गर्नुपर्ने बताएको छ।
४. सुरक्षा निकायको मनोबल कमजोर, अपराधी संरक्षणमा सरकार
देशभरका हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुको साटो सरकारले उल्टै संरक्षण गरेको, प्रहरी हत्यामा संलग्नहरूलाई रिहा गरिएको तथा विदेशी एजेन्टहरूको खोजी हुन नदिइएको एमालेको आरोप छ।
५. जननिर्वाचित सरकारको म्यान्डेटमा हस्तक्षेप अस्वीकार्य
पार्टीले जनताले दिएको म्यान्डेटमाथि सरकारले अवरोध सिर्जना गर्दै लोकतान्त्रिक प्रक्रियालाई विथोल्ने प्रयास गरिरहेको दाबी गरेको छ।
६. निर्वाचन कानुनमा खेल भइरहेपछि नियम परिवर्तन अनुचित
“खेल सुरु भएपछि नियम परिवर्तन गर्न नपाइने” भन्दै एमालेले संविधान र कानुनअनुसार मात्रै निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेको छ।
७. जननिर्वाचन नै लोकतान्त्रिक गणतन्त्रको आधार
एमालेले लोकतन्त्रको रक्षा जननिर्वाचनमार्फत नै हुने बताउँदै, असंवैधानिक रूपमा सत्ता कब्जा गर्नेहरूको गतिविधिबाट निर्वाचन बिथोलिए पुरानो जनमत सक्रिय गर्नुको विकल्प नरहेको चेतावनी दिएको छ।
पार्टीले अन्त्यमा भनेको छ, “जनतामा पुगेर जनादेश प्राप्त गर्न हामी सधैं तयार छौं, तर असंवैधानिक ढंगले चुनाव रोक्नेहरूले लोकतन्त्रलाई क्षति पुर्याउने प्रयास गरिरहेका छन्।”
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२