काठमार्डौ । नेकपा (एमाले) ले मंसिर २७ गते सुरु हुन लागेको आफ्नो ११ औँ विधान महाधिवेशनका लागि १६ वटा राजनीतिक दलका शीर्ष नेतालाई शुभकामना दिन औपचारिक निमन्त्रण पठाएको छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विभिन्न दलका प्रमुख नेताहरूलाई सहभागी हुन आग्रह गरिएको छ। निम्तो वितरणका लागि खटिएका नेता महेश बर्तौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपस्थित हुने आश्वासन दिएको बताए। कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सहभागी हुन चाहेको बताइएको छ।
‘प्रचण्डजीले आउने जानकारी दिनुभयो,’ बर्तौलाले भने, ‘सभापति देउवाले पनि आउँन मन लागेको बताए। नआए कार्यवाहक सभापतिलाई पठाउने बताएका छन्।’
यससँगै, उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनका लागि विभिन्न मित्रराष्ट्रका राजनीतिक दलबाट पनि शुभकामना सन्देशहरू आएको जानकारी दिएका छन्।
महाधिवेशनको उद्घाटन समारोह भोलि दिउँसो साढे १२ बजे सुरु हुनेछ र साढे ३ बजे सकिने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
उद्घाटन सत्र महासचिव शंकर पोखरेलले संचालन गर्नेछन् भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०८२