काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले हाल देशमा देखिएको सुरक्षागत तनाव र चुनौतीहरू जेनजी आन्दोलनपछि अपदस्थ भएका नेताहरूबाटै सिर्जना भइरहेको दाबी गरेका छन्।
गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “जो अपदस्थ भएका थिए, त्यहीँबाट सुरक्षा चुनौती थप्ने गतिविधि भइरहेका छन्। हामीले निगरानी गरिरहेका छौं र आवश्यक सुरक्षा व्यवस्था पनि गरेका छौं।”
उनका अनुसार हाल केही तत्वहरूले राष्ट्रिय सुरक्षामा संकट (‘नेशनल सेक्युरिटी क्राइसिस’) थप्ने खालका गतिविधि सुरु गरेका छन्। उनले ती गतिविधिहरू नियन्त्रणका लागि राज्य संयन्त्र सक्रिय रहेको बताए।
पत्रकारहरूले सोधेका प्रश्नमा उनले सबै दल वा नेताहरूलाई सामान्यीकरण गर्न नमिल्ने भन्दै भने, “कतिपय एलिमेन्टहरूबाट समस्या हुन थालेको देखिन्छ, तर सबै पुराना दलहरूलाई दोष लगाउन मिल्दैन।”
अर्यालले जेनजी आन्दोलनपछि विस्थापित भएका नेताहरूले आत्मबोध गर्न नसकेको टिप्पणी पनि गरे। उनका शब्दमा, “हामीले सुशासन दिन सकेनौं, त्यसैले अपदस्थ भयौं भन्ने बोध गर्नुपर्ने थियो। बरु उनीहरू नै अहिले डुक्रिन थालेका छन्।”
गृहमन्त्रीले वर्तमान सरकार “क्रान्तिपछि बनेको सरकार” भएको उल्लेख गर्दै आलोचकहरूलाई चेतावनी दिए— “क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस्। क्रान्तीकारीहरूलाई आतंककारी नदेखाउनुस्।”
उनले सुशासन र कानून कार्यान्वयनमा सरकार दृढ रहेको बताउँदै भ्रष्टाचार र सुरक्षा दुरुपयोगविरुद्ध कडा कदम चालिने संकेत पनि गरे।
“बर्दीधारीलाई निजी भान्से, ड्राइभर र पिएसओको रूपमा प्रयोग गर्ने समय सकियो,” उनले भने।
अर्यालका अनुसार, अनावश्यक सुरक्षा फिर्ता गर्दा केही पक्षले विरोध गरे पनि सरकारले जनताको शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्ने अडान लिएको छ। व्यक्तिगत रूपमा कसैलाई थ्रेट भए, निवेदन दिन सकिने र त्यसमा तुरुन्त कारबाही गरिने उनले स्पष्ट पारे।
प्रकाशित मिति: बुधबार, असोज २९, २०८२