काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगीमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने दृढ अठोट व्यक्त गरेकी छिन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्या समाधान आयोगका सदस्य, सहकारी नियमन प्राधिकरण र सहकारी पीडित बचतकर्ता महासंघका प्रतिनिधिहरूसँगको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले ठगहरूविरुद्ध कडा कदम चाल्ने बताइन् ।
उनले भनिन्, “सहकारीका नाममा जनताको पसिनाको पैसा ठग्नेहरूलाई अब सजिलै हिँड्न दिइँदैन । यिनीहरू महँगा सुनका घडी लगाएर, गाडी चढेर, नक्कली डिभोर्स गराएर सुकिलो मुकिलो भएर हिँडिरहेका छन् — यस्तो चल्न दिँदैनौं । कानुनमा कमजोरी छ भने संशोधन गरेरै भए पनि कारबाही गर्छौं ।”
प्रधानमन्त्रीले पीडितहरूको रकम फिर्ता गराउन घरजग्गा लिलाम गर्नेदेखि विदेशमा रहेका ठगीहरूलाई पनि कानुनी दायरामा ल्याउने तयारी भइरहेको बताइन् ।
“पीडितहरू सडकमा रोइरहेका छन्, तर ठगहरू ऐशआराममा छन् — यो सभ्य समाजको लक्षण होइन,” उनले भनिन्, “यो समस्या यो सरकारले नै समाधान गर्छ, अरूले गर्दैनन् ।”
प्रधानमन्त्री कार्कीले सहकारी ठगीका मुद्दामा अब राजनीतिक संरक्षण र प्रभाव अन्त्य हुने स्पष्ट संकेत पनि दिएकी छिन् ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२