काठमाडौं । वरिष्ठ पदाधिकारीहरूको तीव्र असहमति र विवादका बीच नेकपा एमालेले पुष्पराज श्रेष्ठलाई कमाण्डर बनाएर ‘नेशनल युथ भोलिन्टियर फोर्स’ गठन गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित एक बान्क्वेटमा श्रेष्ठलाई झण्डा थमाउँदै औपचारिक रूपमा नेतृत्व सुम्पिएका हुन्। प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, शेरधन राईलगायतका नेतासहितको कार्यक्रममा ओलीले श्रेष्ठलाई फोर्सको शीर्ष नेतृत्व घोषणा गरे।
यसअघि ज्यानमार्ने प्रयास र अपहरणसहित सातवटा मुद्दामा समावेश भइसकेका श्रेष्ठलाई नेतृत्व दिन स्वयं ओलीले लामो गृहकार्य गरेका थिए। तयारी बैठकहरूमा सक्रिय ओलीले जनताको सुरक्षा अब पार्टीकै ‘स्वयंसेवक दस्ता’ ले गर्ने दाबी गर्दै आएका छन्। उनले राज्य संयन्त्र मात्र पर्याप्त नबनेको भन्दै शान्ति–सुव्यवस्था कायम गर्न फोर्स आवश्यक भएको तर्क दोहोर्याए।
१६ कात्तिकमा गुन्डुमा आयोजित कार्यक्रममा महेश बस्नेतको संयोजनमा यस फोर्स निर्माणको कार्यदल गठन गरिएको थियो। कार्यदल सदस्य समीक बडालका अनुसार ‘एमाले भएकाहरूलाई असुरक्षित हुन नदिने, घुसपैठ रोक्ने, प्रकोपमा सहयोग गर्ने’ उद्देश्यसहित फोर्स निर्माण गरिएको हो।
घोषणा अघि नै ‘चन्दा उर्दी’ ले त्रसित नेताहरू
फोर्स गठनको औपचारिक घोषणा हुन नपाउँदै आर्थिक संकलनको उर्दीले एमालेभित्रै तनाव फैलिएको छ। ओलीको सुरक्षा, गुन्डुमा खर्च, नयाँ निवास निर्माणसहित विभिन्न शीर्षक देखाएर सांसद, मन्त्री र व्यवसायीहरूमार्फत रकम मागिँदै आएको नेताहरू बताउँछन्।
प्रदेश सांसदसँग एक महिनाको तलब बराबर रकम, मन्त्रीसँग डेढ महिनाको तलब मागिएको छ। पार्टी निकट व्यवसायीहरूलाई समेत ४ लाख रुपैयाँभन्दा बढी ‘चन्दा’ बुझाउन निर्देशन गएको रिपोर्ट छ।
कुनै संस्थागत निर्णय नै बिना रकम संकलन गर्न थालिएको भन्दै धेरै नेताहरूले असन्तुष्टि प्रकट गरिरहेका छन्। ‘बोलौँ भने अनुशासनको डर, नबोलौँ भने तलबै बुझाउनुपर्ने स्थिति,’ एक नेता भनाइ उद्धृत गर्दै स्रोतहरू बताउँछन्।
टोलटोलमा फोर्स विस्तार गर्ने योजनासँगै आर्थिक संकलन झनै बढ्ने आशंका नेताहरूले व्यक्त गरेका छन्।
वरिष्ठ पदाधिकारी नै विरोधमा
फोर्स गठनका विषयमा एमालेभित्र गम्भीर मतभेद देखिएको छ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव गोकर्ण बिष्ट र योगेश भट्टराईलगायत शीर्ष नेताहरूले “समानान्तर राज्यको अभ्यास” गर्दै पार्टीले छुट्टै फोर्स बनाउने गलत कदम भएको भन्दै विरोध जनाएका छन्।
सचिवालय बैठकमा उनीहरूले प्रकोप वा आपत्कालीन अवस्थामा मात्र यस्ता टोली बनाउन सकिने भन्दै राजनीतिक उद्देश्यले दस्ता निर्माण गर्न नहुने ठहर गरेका थिए। ‘जनताको समर्थनबिना फोर्सले पार्टीलाई बलियो बनाउँदैन’ भन्ने साझा धारणा पनि बैठकमा उठेको थियो।
तर, महेश बस्नेत नेतृत्वको कार्यदलमा भरोसा राखेका ओली भने फोर्स घोषणा गर्ने निर्णयबाट पछि हट्न तयार देखिएनन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०८२