काठमार्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनअघि नै पार्टीको नियमित महाधिवेशन सम्पन्न हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।
मंगलबार बिहान विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा भेटघाटका लागि पुगेका युवा तथा विद्यार्थी नेताहरूसंग कुराकानी गर्दै उनले पुस महिनाभित्र अनिवार्य रूपमा महाधिवेशन गर्नुपर्ने बताएका हुन्।
भेटमा सहभागी विद्यार्थी नेता भुवन भट्टका अनुसार डा. कोइरालाले “मंसिर वा अधिकतम पुसभित्र महाधिवेशन सकिनै पर्छ” भन्ने आफ्नो अडान प्रस्ट रूपमा व्यक्त गरे।
उनका अनुसार पुस महिनाभित्र महाधिवेशन सम्पन्न गर्न नसकिए केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने कोइरालाको धारणा थियो।
कोइरालाले भने, “पुसको अन्त्यसम्म महाधिवेशन हुन सकेन भने सेन्ट्रल कमिटीकै बैठकले सर्वसम्मत ढंगले निर्णय गर्नुपर्छ, बहुमतले होइन। आवश्यक परे विशेष महाधिवेशनतर्फ जानुपर्छ।”
उनका अनुसार यस्तो कदमले पार्टीलाई एकताबद्ध राख्ने र सम्भावित फुटबाट जोगाउने विश्वास विद्यार्थी नेता भट्टले व्यक्त गरे।
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०८२