काठमाडौं ः लगानी बोर्डको बैठकले चार पाङ्ग्रे गाडी निर्माण गर्ने कोरियन कम्पनीको प्रस्ताव स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको बोर्डको बैठकले १० अर्ब ५४ करोडको विदेशी लगानी प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो ।
यसैगरी, बोर्डले निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण सम्बन्धमा देखिएको समस्या समाधान गर्न स्थानीय जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा कार्यदल गठन गरेको छ । त्यसैगरी, अरुण तेस्रोको लगानी स्रोतको सुनिश्चितताका लागि ३ महिना समय थप गर्ने निर्णय गरेको छ । भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रोको हालसम्म पनि वित्तीय स्रोत जुटाउन सकेको छैन ।
यसैगरी बैठकमा बोर्डको सचिवालयले लगानी सम्मेलनबारे भइरहेको प्रगति विवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको छ।
यस्तै स्वीकृत भइसकेका परियोजना फोहोर मैला, यातायात, पर्यटन, जलविद्युत् लगायत विभिन्न क्षेत्रका आयोजना रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, चैत २, २०७५