काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ। सरकारले चालु वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरिसकेको छ, जुन १५ जेठमा अर्थमन्त्रीले सार्वजनिक गरेका थिए। बजेटमा चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत खर्चतर्फ चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ।
सरकारले घोषणा गरेका नयाँ करका दरहरूमध्ये केही १५ जेठदेखि नै लागु भइसकेका छन् भने बाँकी करहरू आज साउन १ गतेदेखि कार्यान्वयनमा आएका छन्। तर, गत आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था भने अपेक्षाकृत कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको भए पनि त्यसको ८२ प्रतिशत मात्र खर्च भएको छ।
खर्च विवरण यस्तो छ:
कुल खर्च: १५ खर्ब २३ अर्ब १० करोड (८१.८७ प्रतिशत)
पुँजीगत खर्च: दुई खर्ब २२ अर्ब (६३.२ प्रतिशत)
चालु खर्च: ८५.९५ प्रतिशत
वित्तीय व्यवस्थाको खर्च: ८७.१४ प्रतिशत
पुँजीगत खर्च वर्षैपिच्छे कमजोर हुने प्रवृत्ति यस वर्ष पनि दोहोरिएको छ, जसले पूर्वाधार विकासको गति सुस्त बनाइरहेको विश्लेषकहरू बताउँछन्।
महालेखा तथ्यांकअनुसार सरकारको आम्दानी र खर्चबीच करिब तीन खर्ब रुपैयाँको गहिरो घाटा देखिएको छ। उक्त घाटा पूर्ति गर्न सरकारले आन्तरिक र बाह्य स्रोतबाट ऋण लिएको छ।
प्रकाशित मिति: बिहीबार, साउन २, २०८२