बागलुङ : काठेखोला गाउँपालिका–३ धम्जामा धसिङ्गरेको तेल उत्पादन गर्न खुलेको उद्योग सञ्चालनमा आउन सकेको छैन । उद्योग स्थापना भएको १ वर्ष बितिसक्दा पनि तेल उत्पादन सुरु हुन नसकेको हो ।
उद्योगका संरचना र यन्त्र, उपकरण प्रयोगमा नआउँदै जीर्णजस्तै देखिन थालेका छन् । उद्योगको संरक्षण र रेखदेखसमेत हुन सकेको छैन । स्थानीयको सक्रियता नदेखिएपछि सञ्चालनमा केही ढिलाइ भएको उद्योग व्यवस्थापनले जनाएको छ ।
स्थानीय थामाको चुली सामुदायिक वनमार्फत उद्योग चलाउने योजना बनेपनि त्यसले मूर्त रूप लिएको छैन । कानूनी रूपमा उद्योग दर्ता गर्न पनि बाँकी रहेको अध्यक्ष थापाले बताए । यो वर्ष सबै प्रकृया र तयारी पुर्याएर तेल उत्पादन सुरु गरिने उनको दाबी छ ।
तत्कालीन जिल्ला वन कार्यालय बागलुङको ५ लाख ५७ हजार रूपैयाँ र काठेखोला गाउँपालिकाको २ लाख रूपैयाँ बजेट उद्योग स्थापनामा खर्च भएको छ । जङ्गलमा खेर गइरहेको वनस्पति धसिङ्गरेबाट तेल उत्पादन गरेर बेच्ने लक्ष्यसहित उद्योग खोलिएको हो ।
प्रकाशित मिति: शनिबार, चैत २, २०७५