क्राइस्टचर्च । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई वटा मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा परी केहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सो आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख माइक बुशले बताए ।
प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन् । सरकारले अर्को सूचना नआएसम्म मस्जिदमा नजान आग्रह गरेको छ ।
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन् ।
उनले भनिन्, ‘अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ ।’ सो आक्रमणमा कति जना संलग्न थिए भन्ने खुल्न सकेको छैन ।
बंगलादेशी टेस्ट क्रिकेट टोलीका कप्तानले आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका छन् । आक्रमण हुँदा बंगलादेशी टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५