वासिंगटन । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका विमान उडानमा रोक लगाएको छ ।
यो निर्णयसँगै अब कम्पनीले निर्माण गरेका ३७१ वटा विमान अर्को निर्णय नभएसम्म उड्न सक्नेछैनन् ।
अमेरिकी उड्डयन नियामक निकायले गत आइतबार सो मोडेलको विमान दुर्घटना भएको इथियोपियाबाट नयाँ प्रमाण भेटिएपछि त्यस्तो निर्णय लिइएको बताएको छ ।
भेटिएको नयाँ प्रमाण र भू–उपग्रहबाट लिइएका पछिल्ला केही विवरणपश्चात् यस्तो निर्णय लिइएको अधिकारीहरूले बताएका छन् ।
यसअघि अमेरिकी संघीय उड्डयन प्रशासनले उडानहरू रोक्ने आधार नभेटिएको बताएको थियो । तर त्यसलगत्तै सो निकायका कार्यवाहक प्रशासक ड्यानियल इल्वेलले भनेका छन्, ‘हामी सबै यो कुरामा स्पष्ट भएका छौं कि दुर्घटना भएको इथियोपियन एयरलाइन्सले लिएको बाटो र उसको व्यवहार लायन एयरको जस्तै थियो । जमिनमा पाइएका प्रमाणले पनि त्यस्तै देखायो ।’
सोही मोडेलको लायन एयरको विमान पाँच महिनाअघि इन्डोनेसियामा दुर्घटना हुँदा एक सय ८९ जनाको मृत्यु भएको थियो ।
यसअघि नै बेलायत, युरोपेली संघ, चीन, अस्ट्रेलिया र भारत लगायतका देशले आफ्ना विमान सेवामा सो मोडलको जहाजलाई उड्न रोकिसकेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५