काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा १०५ व्यवसायको अनुगमन गरी कारबाहीस्वरूप २५ लाख असुल गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा विभागले बुधबार पत्रकार सम्मेलन गरी गत कात्तिकदेखि लागू भएको नयाँ ऐन पालना गर्दै कारबाहीस्वरूप उक्त रकम असुल गरेको जनाएको छ ।
गत असोजसम्मको अनुगमनमा अधिकृतले अनुगमनस्थलमै कारबाही गर्न मिल्ने व्यवस्था नभएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । नयाँ ऐनअनुसार गत कात्तिकदेखि अनुगमन अधिकृतले गलत सावित गरे आवश्यकतानुसार ५ हजारदेखि ३ लाखसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने कानुनी व्यवस्था छ ।
उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने व्यवसायमा विभागले चालू आवमा २ हजार ८०० व्यवसाय अनुगमन गर्ने लक्ष्य लिए पनि हालसम्म १ हजार ३८१ को मात्रै अनुगमन गरेको छ । गत आवमा भने विभागले काठमाडौं उपत्यका र बाहिर गरी ५ हजारको अनुगमन गरेको थियो । प्रदेश र स्थानीय तहमा अझै कानुन नबनेकाले प्रभावकारी रूपमा बजार अनुगमन गर्न केही समस्या भएको विभागले जनाएको छ ।
उपभोक्ता जागरण कार्यक्रम
हरेक वर्ष मनाइँदै आएको विश्व उपभोक्ता अधिकार दिवस यस वर्ष पनि ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सबैको सरोकार भन्ने’ मूल नाराका साथ मनाउने तयारी विभागले गरेको छ । सन् १९८३ देखि मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाउन थालिएको हो ।
दिवसको अवसरमा विभागले बुधबार उपभोक्ता संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाका कोटेश्वर, लगनखेल, महाराजगञ्ज, कलङ्की, बालाजु, चाबहिल, रत्नपार्क, कालीमाटी, नयाँ बानेश्वर, सातदोबाटो र भक्तपुरका विभिन्न स्थानमा उपभोक्ता जागरणसम्बन्धी कार्यक्रम गर्ने तयारी गरेको छ । आगामी चैत १ गते विभागले भने विशेष कार्यक्रम गर्ने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५