काठमाडौं : जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया सुरु गरेको छ ।
विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान संख्या र चाप बढेसँगै रिफ्युलरको संख्या थप्न खरिद प्रक्रिया अघि बढाइएको निगमले जनाएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ वटा रिफ्युलर भए पनि ती जीर्ण अवस्थाका छन् । पर्याप्त रिफ्युलर नहुँदा जहाजले इन्धन भर्न झन्डै १ घण्टासम्म पालो कुर्नुपर्ने अवस्था छ । रिफ्युलर भनेको हवाई इन्धनलाई प्युरिफाइड गरी जहाजमा इन्धन भर्न प्रयोग गर्ने सवारी साधन हो ।
निगमको इञ्जिनियरिङ विभाग प्रमुख राजीवराज शर्माले देशभरकै विमानस्थलमा जहाजमा इन्धन भर्ने रिफ्युलरको अभाव रहेकाले थप्नका लागि आवश्यक प्रक्रिया थालेको बताए । पहिलो चरणमा २७ किलोलिटर क्षमताका ४ वटा रिफ्युलर खरिद गर्न बोलपत्र आह्वान भइसकेको र प्रक्रिया पूरा गरेर नेपाल ल्याउन झन्डै १० महिना लाग्ने जनाइएको छ । नेपालमा २०६९ सालपछि नयाँ रिफ्युलर आएको छैन । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जीर्ण अवस्थाका ८ वटा रिफ्युलर छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५