काठमाडौं : अन्तर्राष्ट्रिय स्तरमा नै महिलाहरु हरेक क्षेत्रमा अघि बढिरहेको बताइरहँदा महिला नेतृहरुको संख्यामा गिरावट आएको पाइएको छ । हालै जारी तथ्यांकले महिला नेतृको संख्या घटेको पाइएको हो ।
राजनीतिमा महिलाको संख्या पुरुषको तुलनामा धेरै कम छ । विश्वको राजनीतिमा केबल ७ प्रतिशत मात्रै महिला नेतृ रहेको र २४ प्रतिशत महिला सांसद रहेको तथ्यांक बाहिर आएको हो ।
संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसाले महिलाको स्थितिबारे गरिएको अध्ययनअनुसार विश्वभरमा महिला नेतृको संख्या घटेको उल्लेख गरेकी हुन् ।
अन्तर संसदीय संघले गत साता जारी गरेको तथ्यांकअनुसार महिलालाई राष्ट्राध्यक्षका रुपमा चुन्ने प्रतिशत सन् २०१७ को ७.२ प्रतिशतबाट घटेर सन् २०१८ मा ६.६ प्रतिशत भएको छ ।
यसै अवधिमा सरकारमा महिला प्रमुखको संख्या पनि ५.७ प्रतिशतबाट घटेर ५.२ प्रतिशत भएको छ । अन्तर संसदस्य संघकी प्रमुख ग्याब्रिला क्वेवास ब्यारनले भनिन्, ‘केही सकारात्मक आन्दोलनका बाबजुद सरकारी नेतामा अभूतपूर्व रुपमा बहुमत पुरुषको छ ।’
हाल विश्वमा नेपालका राष्ट्रपति विद्या भण्डारी, जर्मन चान्सल एञ्जेला मर्केल, बेलायती प्रधानमन्त्री थेरेसा मे, ताइवानकी राष्ट्रपति साइ इङ्ग वेन, सिंगापुरकी राष्ट्रपति हलिमाह याकोबलगायत महिला नेतृहरुले देश हाँकिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५