काठमाडौँ : काठमाडौँमा सम्पन्न १५ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा रु १५ करोड चालिस लाखको कारोवार भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको पाँच दिने मेलाको चार लाख ७५ हजारले अवलोकन गरेका थिए ।
समापन कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आय आर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताए । उनले उत्पादन बढाउन स्थानीय निकायमार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा जोड दिए । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले सञ्चालित प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ रहेकोे थियो ।
महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएका घरेलु उद्योगका उत्पादनको बजार प्रवद्र्धन गर्न मेला आयोजना गरिएको बताए । मेलामा चीन, भारत र बङ्लादेश सहित देशका विभिन्न उद्यमीको २०५ वटा कक्ष रहेको थियो ।
-रासस
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५