चितवन ः भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्याधुनिक उपकरण जडान भइरहेका छन् ।
नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरिद गरी पठाएको नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । सो उपकरणलाई ९० लाख पर्ने गौतमले बताए । एक साताभित्रमा उपकरण जडान भइसक्ने उनले बताए ।
विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुको सामान चेकजाँचमा समस्या भइरहेको थियाे । साथै विमानस्थलको स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइएको छ । यसै क्रममा धावनमार्ग ‘ओभर ले’ गरिँदै छ । १ हजार २०० मिटरको धावनमार्गलाई निर्माणपछि हालसम्म ‘ओभर ले’ गरिएको छैन ।
यससँगै पार्किङ क्षेत्र साँघुरो भएकाले विस्तार गरिँदै छ । अहिले साना जहाज ४ वटा अटे पनि एटिआर र जेट स्टिम १ साइडमा एउटा मात्रै अटाउन सक्छन् । पार्किङ साँघुरो भएकाले कम्तीमा पनि २०/२० मिटर थप गर्न लागिएको गौतमले बताए ।
एउटा हेलिप्याड छुट्टै बनाउने र बाँकी ४ वटा विमान सजिलैसँग अटाउने गरी पार्किङको व्यवस्थापन गर्न लागिएको हो । सबै काम यसै आर्थिक वर्षमा सुरु हुने उनले बताए ।
बुद्ध, यती र सिम्रिक एयरलाइन्सले भरतपुर-काठमाडौं दैनिक १० जहाज उडाउँदै आएका छन् । भरतपुर विमानस्थल आसपासका क्षेत्रमा ठूला संरचना बनेसँगै उडान र अवतरण कठिन हुँदै आएको छ । विमानस्थलको धावनमार्ग विस्तार गर्न पहलसमेत गरिएको छ । धावनमार्ग विस्तारसँगै ठूला जहाज अवतरण गर्न र रात्रिकालीन सेवासमेत दिन सकिने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५