भद्रपुर : झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एन्ड रिसोर्ट’ सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा ४ करोड लगानी भएको छ । रिसोर्टलाई विस्तार गर्न थप ८ करोड लगानी गरिने पर्यटन उद्यमी एवं प्रालिका अध्यक्ष वीरबहादुर कटुवालले जानकारी दिए ।
पाथिभरा मन्दिर जाने धार्मिक तीर्थयात्री, इलामको कन्याम र श्रीअन्तु एवं ताप्लेजुङको कञ्चनजङ्घा हिमाली क्षेत्र घुमफिरका लागि आउने पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा पुर्याउने रिसोर्टको लक्ष्य रहेको कटुवालले बताए ।
झापाको बिर्तामोड र काँकडभिट्टाबाट गाडीमा आधा घण्टामा पुगिने रिसोर्ट क्षेत्रमा बाह्रैमास राम्रो मौसम हुनु त्यहाँको प्रमुख विशेषता हो । झापा ट्राभल्स संघका अध्यक्ष नेत्र कार्की भन्छन्, ‘इलाममा यस्तै सुविधासम्पन्न रिसोर्टको खाँचो थियो, बल्ल पूरा भएको छ ।’
५६ रोपनी जग्गा ५० वर्षका लागि भाडामा लिएर पर्यटन उद्यमी कटुवालले एकल लगानीमा रिसोर्ट निर्माण गरेका हुन् । नेपालमा पर्यटक आगमन बढिरहेका बेला ठूलो लगानीमा खुलेको यो रिसोर्टले आन्तरिक पर्यटकसहित भारतको पश्चिम बङ्गाल र विहारका पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना रहेको पर्यटन व्यवसायी शङ्कर भट्टराईले बताए ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५