एजेन्सी । अमेरिकाकी काइली जेनर सबैभन्दा कम उमेरमा अर्बपतिको सूचीमा सामेल भएर कीर्तिमान बनाएकी छन् ।
विश्वचर्चित फोब्र्स म्यागाजिनले सार्वजनिक गरेको अर्बपतिको सूचीमा २१ वर्षीया काइली पनि सामेल छन् । उनले शृङ्गारका सामानको व्यवसायमार्फत अर्बपति बनेकी हुन् । उनको सम्पत्ति १ बिलियन डलर रहेको छ ।
उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो । उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन् ।
२१ वर्षको उमेरमा अर्बपतिको सूचीमा परेकी उनले फेसबुकका संस्थापक मार्क जुकरबर्गको नाममा रहेको कीर्तिमान पनि भंग गरेकी छन् । जुकरबर्ग कान्छो अर्बपतिको रुपमा सूचीमा पर्दा २३ वर्षका थिए ।
अर्बपतिको सूचीमा परेपछि उनले भनेकी छन, ‘मैले यस्तो केही अपेक्षा गरेकी थिइनँ । मैले भविष्यको यस्तो लक्ष्य पनि राखेकी थिइनँ । सूचीमा पर्दा साँच्चिकै खुसी लागेको छ । कसैले आफ्नो काँधमा धाप मारिदिएजस्तो लागेको छ ।’
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५