काठमाडौं ः नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्याँस उद्योगबीच सहमति भएपछि खाना पकाउने एलपी ग्याँसको बिक्री–वितरण सञ्चालन हुने भएको छ ।
नेपाल आयल निगम र नेपाल एलपी ग्याँस उद्योग संघबीच बुधबार भएको समझदारीअनुसार ग्याँस उद्यमी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी निगमबाट एलपी ग्याँसका पिडिओ खरिद गरी एलपी ग्याँसको बिक्री वितरण सञ्चालन गर्ने भएको हो ।
संघको मागका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा बुधबार निगम र संघका पदाधिकारीबीच छलफलपछि ३ बुँदे समझदारी भएको हो । उद्योगी–व्यवसायीका मागका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्ने गरी सम्झौता भएको छ ।
त्यस्तै आपूर्ति मन्त्रालयले एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको विवरण तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी बनेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र संघका अध्यक्ष गोकुल भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५