नयाँ दिल्ली । द हिन्दुस्तान टाइम्सका अनुसार पाकिस्तानको बालाकोटमामा चरमपन्थी जैश–ए–मोहम्मदको तालिम केन्द्रलाई लक्षित गरेको भनिएको भारतीय वायुसेनाको आक्रमणको समयबारे सात जनालाई मात्र थाहा थियो ।
बिहान तीन बजेर ४० मिनेटदेखि ५३ मिनेटसम्म भएको हमलामा मिराज लडाकु विमान प्रयोग भएको थियो ।
भारत प्रशासित कश्मीरको पुलवामामा सीआरपीएफ जवानलाई लक्षित गरी गरिएको हमलामा ४० भन्दा बढीको मृत्यु भएपछि भारतले पक्कै पनि कुनै कारबाही गर्ने अनुमान पहिले नै गरिएको थियो ।
भारतको गुप्तचर निकाय ‘रअ’ लाई चरमपन्थीको शिविर निश्चित गर्ने जिम्मेवारी दिइएको थियो । ‘रअ’ ले त्यस्ता छ वटा शिविरबारे जानकारी दियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हवाई आक्रमणका लागि १८ फेब्रुअरीमै अनुमति दिइसकेका थिए ।
गुप्तचर निकायका अधिकारीहरूका अनुसार सो हमलाको समयबारे सातजना व्यक्तिलाई मात्र थियो ।
जसमा प्रधानमन्त्री मोदी, उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, स्थलसेना, वायुसेना, नौसेना, इन्टेलिजेन्स ब्यूरो तथा ‘र’ का प्रमुख छन् ।
पाकिस्तानी सेनालाई भ्रममा पार्न भनेर भारतीय वायुसेनाले २२ फेब्रुअरीदेखि नै सीमानजिकै रहेका हवाई आधारमा आफ्ना लडाकु विमानको उडान राति गराउन थालेको थियो ।
त्यसको तीन दिनपछि जासुसी निकायबाट बालाकोटस्थित शिविरमा जैश–ए–मोहम्मदका तीन सयदेखि साढे तीन सयजना चरमपन्थी रहेको सूचना आयो । त्यसपछि वायुसेनालाई अघि बढ्ने संकेत दिइयो ।
टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानको बालाकोटमा भारतीय आक्रमणपछि पाकिस्तानले जबाफी कारबाही गर्ने आशंकामा दिल्ली, मुम्बई, पञ्जाब, राजस्थान र गुजरातसहितका स्थानलाई ७२ घण्टाका लागि उच्च सतर्कतामा राखिएको छ ।
पन्जाबको गुरदासपुर, तरनतारन, अमृतसर, फिरोजपुर र फजिल्कामा पनि स्थानीय प्रशासनले संकटको सामना गर्ने तयारी सुरु गरेको छ ।
गुजरातका मुख्यमन्त्री विजय रुपाणीले मंगलवार एन्टी टेरोरिस्ट स्क्वाड र गुप्तचर संस्थाका अधिकारीहरूसँग बैठक गरेर अवस्थाको समीक्षा गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५