धनगढी : धनगढी प्रिमियर लिग(डिपिएल)को तेस्रो संस्करणको उपाधि सिवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनल खेलमा भारतीय खेलाडी सन्नी पटेलले सानदार ब्याटिङ गरेपछि अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गरेको हो ।
१ सय २४ रनको लक्ष्य पक्ष्याएको १९.५ ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको हो। जितसँगै अत्तरियाले ३० लाख प्राप्त गर्दा उप विजेताले १२ लाखमा चित्त बुझायो ।
अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा अभिनास बोहोरालाई पाँचौ बलमा सन्नी पटेलले छक्का हान्दै उपाधि जिताए । अत्तरियालाई उपाधि दिलाउन सन्नीले २६ बलमा ४७ रनमा अविजित रहे ।
अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन बनाउन सके । ओपनर ज्ञानेन्द्र कुवँर जय किशन कोल्सावालाले ५ ओभरमा ३१ रनको साझेदारी गरेका थिए ।
पाँचौ ओभरको अन्तिम बलमा अभिनास बोहोराले ज्ञानेन्द्र कुवँरलाई ७ रनमा बोल्ड आउट गरे । सातौं ओभरको तेस्रो बलमा सन्दीप जोरा २ रनमा रन आउट गरे । अभिनासको बलमा सिद्धान्त लोहनीले उत्कृष्ट रन आउट गराएका थिए । ९ औं ओभरको पहिलो बलमा सागर ढकालले कोल्सावालाई ३० रनमा क्याच आउट गरे ।
अंमरसिंह राउटेलाले क्याच गर्नु अघि २७ बलमा ५ चौका प्रहार गरे । लगतै तेस्रो बलमा रित गौतमलाई शून्यमा विकेटकीपर दिलिप नाथले स्टम्पिङ आउट गराएपछि अत्तरिया दवावमा परेको थियो । १० औं ओभरको अन्तिम बलमा भुवन कार्की ८ रनमा क्याच आउट भएपछि अत्तरिया ५४–५ को कमजोर अवस्थामा पुगेको थियो ।
त्यस्तै कमलसिंह ऐरी ३ रनमा आउट भए ।सागर ढकालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । मोहम्मद नाविदले २,साहव आलम र अभिनास बोहोरा समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ थालेको महेन्द्रनगरले २० ओभरमा अल आउट हुँदै १ सय २३ रन बनाएको थियो । महेन्द्रनगरका लागि ओपनर दिलिप नाथले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाएको थियो।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५