नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ।
इन्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुने क्रम जारी रहेको निगमले जनाएको छ। सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले हाललाई पेट्रोलियम पदार्थको साबिककै बिक्री मूल्यलाई यथावत राखेको जनाएको छ। हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० र डिजल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ छ।
इन्डियन आयल कर्पोरेसनले गत माघ २ देखि यही फागुन ४ गतेसम्मका लागि पठाएको मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६३ पैसा र डिजलमा ६ रुपैयाँ ५७ पैसा मूल्य वृद्धि भएको भए तापनि सो अवधिमा निगमले पेट्रोल र डिजल दुबैमा प्रतिलिटर २ रुपैयाँ मात्रै मूल्यवृद्धि गरेको जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५