इस्लामाबाद(राससरएएफपी) । साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ । साउदी राजकुमार मोहम्मद बीन सल्मानको पाकिस्तान भ्रमणका क्रममा उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । साउदी राजकुमार मोहम्मद बीन सल्मानको स्वागतमा पाकिस्तानी प्रधानमन्त्री इम्रान खान विमानस्थलमा आफै पुगेका थिए ।
पाकिस्तानले पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर सङ्कट व्यहोर्दै आएको छ । पाकिस्तानको खस्केको अर्थतन्त्रलाई टेवा दिन उक्त सहयोग महत्वपूर्ण हुने पाकिस्तानको भनाइ छ । साउदी पत्रकार जमाल खसोग्जीको हत्याको अभियोगमा निकै आलोचित हुनुभएका राजकुमार सल्मान एसियाका तीन मुलुकको भ्रमणको सिलसिलामा पाकिस्तान आइपुग्नु भएको हो । पाकिस्तानमा राजकुमार सल्मानलाई भव्य स्वागत गरिएको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबियाले लामो समयदेखि प्रदान गरिरहेको सहयोगका लागि राजकुमार सल्मान र साउदी सरकारप्रति आभार प्रकट गरेका थिए । उनले भने, ‘पाकिस्तान र साउदी अरेबियाबीचको सम्बन्ध अझ नयाँ उचाईमा पुगेको छ ।’
खानले प्रधानमन्त्री भएपछि यसअघि दुई पटक साउदी अरेबियाको भ्रमण गरिसक्नु भएको छ । साउदी राजकुमार इस्लामाबाद नजिकैको सैनिक अड्डामा आइपुग्नुहुँदा २१ तोपको सलामी दिइनुका साथै प्रधानमन्त्री खान र प्रधानसेनापति जनरल कमार जाभेद बज्वाले राजकुमारलाई स्वागत गरेका थिए ।
राजकुमार सल्मानको भ्रमण भारत र इरान दुबै मुलुकमा तनाबको वातावरण रहेकै समयमा भएको छ । भारतको काश्मिरमा भएको आक्रमण तथा इरानमा भएको अर्को आत्मघाती आक्रमणमा पाकिस्तानको समर्थन रहेको इरान र भारतले दाबी गरिरहेका छन् । पाकिस्तानले भारतको आरोपको खण्डन गरिसकेको छ । भारतमा केही हुनासाथ त्यसको दोष पाकिस्तानमाथि लगाउने भारतको पुरानै प्रचलन हो भन्दै इस्लामाबादले काश्मिरमा भएको घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट गरेको छ ।
साउदी राजकुमार पाकिस्तानको दुई दिने भ्रमण पूरा गरी भारत जाने कार्यक्रम रहेको जनाईएको छ । भारतमा राजकुमार सल्मानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उहाँ चीनको दुई दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्ने जनाईएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५