काठमाडौं : धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार एनसिसी बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद शेयर सूचीकृत भएका छन् । यस्तै, जानकी फाइनान्स लिमिटेडको ८ लाख ८७ हजार ४६६ कित्ता शेयर लाभांश, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।
स्टकका अनुसार वेस्टर्न डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५६१ कित्ता शेयर लाभांश र मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । साताभर शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक १४.६५ विन्दुले घटेको छ ।
यस्तै, यस साता एभरेष्ट बैंकको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । सो बैंकको १ अर्ब ९१ करोड ७६ लाख बराबरको कारोबार भयो । दोस्रोमा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको ६२ लाख बराबरको कारोबार भएको छ । प्रभु बैंक, सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, प्रभु बैंक लिमिटेडको संस्थापक शेयर, नेपाल बैंक लिमिटेड र माछापुच्छ्रे बैंकको शेयर बढी कारोबार भयो ।
बजार पुँजीकरणमा भने नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ । सो संस्थाको १ खर्ब चार अर्ब २५ करोड बराबरको बजार पुँजीकरण रहेको छ । यस्तै, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसी एसिया बैंक, नेपाल एसबिआई बैंक र एनएमबी बैंक रहेका छन् ।