पोखरा : अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा जारी १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले हात पारेको छ ।
पोखरा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा हङकङका केल लोक इन ताङ र इन्डोनेसियाका जेराल यासिनको जोडीलाई ६-३, ७-६ को सेटमा पराजित गर्दै जापानिज जोडीले सो उपाधि रक्षा गरेको हो । महिला डबल्सतर्फ चीनका ले यु लियु र इटोङ झाङको जोडी प्रथम भएको छ । चीनकै जुछुआन लुओ र जियु झाङको जोडीले वाकओभर दिएपछि लियु र झाङ जोडीले प्रथम भएका हुन् ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रतियोगिताले पोखराको प्रचार प्रसारमा सहयोग पुगेको उल्लेख गर्दै टेनिस खेलका लागि आवश्यक भौतिक संरचना तयार गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । पुरुष एकलतर्फ जापानका गेनी इनोक र भारतका उदयवीर सिंह फाइनलमा प्रवेश गरेका छन् । गेनीले भारतका इशान सेठ्ठीलाई ६-४, ७-६ ले तथा सिंहले भारतकै सार्थक सुदेनलाई ६-०, ६-३ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् ।
महिला एकलतर्फ चीनका ले यु लियु र भारतका रेन्नी सिंग्ला फाइनलमा पुगेका छन् । लियुले बुल्गेरियाका भिक्टोरिया भेलेभालाई ६-०, ७-५ ले तथा सिंग्लाले भारतका रिया बोभेजालाई ६-०, ६-३ को सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् । एकलतर्फको फाइनल खेल आज हुने टेनिस संघ कास्कीका महासचिव नवीन चालिसेले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५