बैतडी, ३ फागुन । बैतडीका दुर्गम ग्रामीण क्षेत्रमा विप्रेषण सेवा सञ्चालनमा आएपछि यहाँका नागरिकलाई सजिलो भएको छ । जिल्लाका विभिन्न सात सहकारी संस्थाले विप्रेषण सेवा सञ्चालनमा ल्याएपछि यहाँका ग्रामीण क्षेत्रका नागरिकलाई सजिलो भएको हो ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–२ स्थित जयमहाकाली कृषि सहकारी संस्था, पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था, पाटन नगरपालिका–१० स्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था, सिगास गाउँपालिका गाँजरीस्थित प्रगतिशील बचत तथा ऋण सहकारी संस्था, पाटन–६ स्थित उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थामार्फत विप्रेषण सेवा सञ्चालन भइरहेको छ ।
दशरथचन्द नगरपालिका–१ स्थित शिखर बीउ प्रवद्र्धन सहकारी संस्था, दशरथचन्द नगरपािलका–२ स्थित निङ्गलाशैनी बचत तथा ऋण सहकारी संस्थामार्फत विप्रेषण सेवा सञ्चालन भइरहेको बताइएको छ ।
गाउँकै सहकारीबाट विप्रेषणको रकम प्राप्त गर्न र पठाउन सकिनुका साथै गाउँमै विप्रेषण सेवा पाइने भएपछि स्थानीयवासी पनि खुशी भएको पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले जानकारी दिए । विप्रेषण सेवा शुरु भएपछि नागरीकलाई रुपैया प्राप्त गर्न र पठाउन सहज भएको दुर्गम पञ्चेश्वरका स्थानीय शुक्रबहादुर चन्दको भनाइ छ ।
आप्रवासी कामको पूँजीको सुरक्षा गर्नका लागि गाउँघरकै सहकारीमार्फत विप्रेषण सेवा शुरु गरिएको हो । रुडेस बैतडी र अक्सफाम नेपालको प्राविधिक सहयोगमा सहकारीले विप्रेषण सेवा शुरु गरेका हुन् । विदेशबाट पठाएको पैसा आफ्नै गाउँमा उपलब्ध हुन थालेपछि स्थानीयवासी पनि खुशी भएका छन् ।
विदेशबाट पठाएको पैसा झिक्न बैतडीका नागरिकले बैतडी सदरमुकाम तथा डडेल्धुरा जानुपर्ने बाध्यता थियो । गाउँकै सहकारीमार्फत विप्रेषण सेवा शुरु भएपछि गाउँलेलाई सजिलो भएको दशरथचन्द नगरपालिका–१ मुस्याचोरस्थित शिखर बीउ प्रवद्र्धन सहकारी संस्था लिमिटेडका अध्यक्ष देवदत्त भट्टले बताए ।
भारतमा रोजगारी गरेर फर्कने नागरिकले आफूले कमाएको पैसा आफ्नै गाउँमा विप्रेषणमार्फत पठाउन सजिलो होस् र उनीहरुलाई बाटोमा समस्या नहोस् भनेर गाउँकै सहकारीमा विप्रेषण सञ्चालन गरिएको बताइएको छ । विप्रेषण सेवा शुरु भएपछि यसअघिका मान्छेकै हातमा पठाउने रकम अब विप्रेषणबाट पठाउन सजिलो भएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५