काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं सँगसँगै अन्य चाडपर्वमा पनि नयाँ नोट साट्न पाइने व्यवस्था गरेको छ ।
सबै जातजाति र चाडपर्वको सम्मान स्वरुप नयाँ नोटको व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । विभिन्न चाडपर्वका अवसरमा नोट साँट्न पाइने भएपछि दशैंको बेला हुने भीडभाड कम हुने समेत अपेक्षा गरिएको छ ।
अब दशैंसँगै नयाँ वर्ष, उभौली पर्व, बुद्ध जयन्ती, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, जितिया पर्व, योमरी पुन्ही, ज्यापु दिवस, ल्होसार, क्रिसमस, माघी पर्व, महाशिवरात्री, घोडे जात्रा, इद लगायतका राष्ट्रिय पर्वमा नयाँ नोट सटहीको व्यवस्था मिलाइने मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
नयाँ नोट साट्नका लागि नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली लगायत उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकको कार्यालयहरु विराटनगर, जनकपुर, विरगंज, पोखरा, सिद्धार्थनगर, नेपालगंज र धनगढीबाट सटही सुविधा उपलब्ध गराइने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५