विराटनगर । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा अहिले वित्तिय संक्रमण भएको भएपनि तरलताको अभाव नरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले मुलुकमा आर्थिक तरलता उत्पन्न हुन नदिने गरी व्यवस्था गर्न लागिएको जानकारी दिए । उनले समग्र मुलुकको आर्थिक विकासका लागि प्रदेश र स्थानीय तहले पनि खर्च गर्न क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए ।
मन्त्री खतिवडाले स्थानीय निकायको आ–आफ्नो अधिकार भएको बताउँदै नेपालीको कर तिर्ने क्षमताभन्दा बढी कर नलगाइएको धारणा व्यक्त गरे । स्थानीय तहमा करको समस्या अहिले नरहेको भन्दै उनले वित्तीय संघीयता लागू भएको चार महिना मात्र भएकाले केही बुझाइको कारणले मात्र करको समस्या देखिएको स्पष्ट पारे ।
उनले प्रदेश सरकारको आफनै संरचना बन्ने क्रममा रहेकाले संघीय सरकारबाट प्रदेश सरकारलाई संरचना हस्तान्तरण हँुदै जाने बताए । स्थानीय तहमा कर्मचारी समायोजनमा ढिलो भएको स्वीकार्दै मन्त्री खतिवडाले संघीय निजामती कानून आउनासाथ दरबन्दीअनुसार एक÷दुई महिनाभित्र कर्मचारी समायोजन हुने जानकारी दिए ।
मन्त्री खतिवडाले मुलुकको कुल गार्हस्थ उत्पादन वृद्धि भएको जानकारी दिँदै शेयरको मूल्य घटनुमा माग र आपूर्तिको कारण रहेको बताए । उनले वित्तीय आयोग गठन नभए पनि यसले गर्ने कार्य सरकारअन्तर्गतका विभिन्न सचिवालयमार्फत भइरहेको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५