काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको दोस्रो चरणको शेयर कात्तिक १५ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने भएको छ ।
दोस्रो चरणको साधारण शेयर अन्तर्गत १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो । यसको बिक्रि प्रबन्धकको काम नागरिक लगानीकोष र सनराइज क्यापिटलले गर्ने जनाइएको छ ।
यसअघि प्रतिकित्ता १०० रुपैयाँ दरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयर मध्ये पहिलो चरणमा दोलखाका आयोजना प्रभावितका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिएको थियो ।
यसपटक न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन सि—आस्वा प्राप्त बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । पर्याप्त आवेदन परेको अवस्थामा कात्तिक १९ गते आवेदन फारम बुझाउने अन्तिम दिन हुनेछ । यदि सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने मंसिर १४ गतेसम्म समय थप गरिनेछ ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०७५