काठमाडौं । राज्यको ढुकुटीबाट विलासितामा निकै ठूलो रकम खर्च भएको खुलासा भएको छ ।
महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा राज्यको ढुकुटीबाट सवारीसाधनतर्फ ६ अर्ब ७१ करोड खर्च भएको उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारमा गएका नेपालीहरुबाट प्राप्त हुने विप्रेषणको रकम विलासितामा बढी खर्च हुने गरेको सन्दर्भमा छलफल हुँदै गर्दा सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको हो । वैदेशिक रोजगारमा रहेका नेपालीबाट आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ५५ अर्ब ६ करोड विप्रेषण प्राप्त भएको थियो ।
महालेखा परीक्षक टङ्कमणि शर्माले अघिल्लो आर्थिक वर्षमा सवारीसाधनतर्फ ३ अर्ब बजेट विनियोजन भएकामा २१९ प्रतिशतले थप गरी रु ६ अर्ब ७१ करोड खर्च भएको तथ्याङ्क प्रस्तुत गरे । त्यस्तै, त्यसैगरी मनोरञ्जन, चियापान, अतिथि सत्कार र कार्यालय सुरक्षाको नाममा आव २०७३/७४ मा ६ अर्ब ९४ करोड खर्च भएको विवरण महालेखाले उपलब्ध गराएको छ । उक्त आर्थिक वर्षमा विविध खर्चतर्फ १ अर्ब १६ करोड विनियोजन भएकोमा ५९६ प्रतिशत रकम थप गरिएको थियो ।
नेपालीले वार्षिक आयको ९२ प्रतिशत रकम विलासिता र दैनिक उपभोग्य सामान खरिदमा खर्च गर्ने गरेको तथ्याङ्क पनि बैठकमा प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५