काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर अब काठमाडौंबाटै भर्न पाइने भएको छ । राष्ट्रिय गौरवको आयोजनामा आमनागरिकको सहभागिता वृद्धि गराउने लक्ष्यका साथ यो व्यवस्था गरिएको हो ।
नेपाल धितोपत्र बोर्ड, आयोजना, आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकारवाला व्यक्तिको उपस्थितिमा बिहीबार भएको छलफलमा दोलखावासी सबैलाई न्यूनतम शेयर उपलब्ध गराइने निर्णय भएको छ । यो निर्णयसँग दोलखावासीले लामो समयदेखि राख्दै आएको मागको सम्बोधन भएको बताइएको छ ।
गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौं उपत्यकामा बसोबास गर्ने क्रम बढेका कारण उनीहरुका लागि आफू बसेको स्थानबाटै शेयरमा आवेदन गर्न पाउने व्यवस्था गरिएको हो ।
सहमतिअनुसार हितग्राही खाता नभएका दोलखावासीलाई शेयर आवेदन गर्न दिइनेछ । नेपाल स्टक एक्सचेञ्जमा शेयर सूचीकृत हुन केही समय लाग्ने भएकाले तत्काल हितग्राही खाता नभए पनि केही फरक नपर्ने देखिएको छ । शेयर आवेदकलाई सहजताका लागि स्वयंसेवक परिचालन गरी दोलखाका गाउँ गाउँमा परिचालन गरिनेछ । उनीहरुले स्थानीयवासीको घर घरमा नै गएर शेयर संकलन गर्ने, शेयर फाराम भराउने काम गर्नेछन् ।
साधारण शेयर यही साउन १६ देखि भदौ १४ गतेसम्म बिक्री गरिनेछ । आयोजना प्रभावित दोलखाका स्थानीयवासी र सर्वसाधारणलाई गरी रु दुई अर्ब ६४ करोड ७५ लाख बराबरको दुई करोड ६४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । स्थानीयवासीलाई शेयर बाँडफाँड गरेपछिमात्रै आमनागरिकलाई शेयर बिक्री गर्ने तयारी गरिएको छ ।
आयोजनाको व्यवस्थाअनुसार स्थानीयवासीलाई रु एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड ९० लाख कित्ता शेयर बिक्री गरिनेछ । यस्तै सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाखबराबरको एक करोड ५८ लाख ८५ कित्ता साधारण शेयर बिक्री गरिनेछ । आयोजना प्रभावितले प्रतिकित्ता न्यूनतम ३० देखि अधिकतम ३०० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै सर्वसाधारणले ५० देखि बढीमा एक हजार कित्तासम्म शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।
आगामी पुष मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको माथिल्लो तामाकोशी आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । कूल ४७ किलोमिटर लामो प्रसारण लाइनमध्ये हालसम्म २४ किमी प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । यस्तै १०८ वटा टावर ठडिइसकेको छ भने १२३ वटा टावरको फाउण्डेशन तयार भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५