९ फागुन, म्याग्दी । पर्यटकीय जिल्ला म्याग्दीको होटल तथा रेस्टुराँ व्यवसायमा रु ८७ करोड लगानी भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार म्याग्दीमा आव २०७२७३ सम्म ५०० भन्दा बढी होटल तथा रेस्टुराँ दर्ता भएका छन् । गत वर्ष दर्ता भएका २१ वटासहित ५१० वटा होटल तथा रेस्टुराँ सञ्चालनमा रहेका कार्यालयका खरिदार इन्द्र पौडेलले बताउनुभयो । दुई वर्ष पहिले १२० वटा होटल थिए । रु ८७ करोड लगानी भएको म्याग्दीका होटलमा एक हजार २७५ जनाले रोजगारी पाएको उहाँले जानकारी दिनुभयो । जिल्लाभित्र पर्यटकीयस्थल भएको र मुस्ताङको प्रवेशद्वार रहेकाले म्याग्दीमा होटल तथा रेस्टुराँ व्यवसाय खुल्ने क्रम बढेको समितिले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पाहुनालाई स्तरीय सेवा प्रदान गर्न पुराना होटलले क्षमता र सुविधा बढाएका छन् । पछिल्लो पाँच वर्षयता बेनी, घोडेपानी, सिङ्गा तातोपानी, दरवाङ, भुरुङ तातोपानीलगायतका ठाउँमा नयाँ होटल तथा रेस्टुराँ स्थापना हुने क्रम वृद्धि भएको छ ।
नयाँ होटल खुल्ने र पुरानाले सेवा, सुविधा, पूर्वाधार बढाउन थालेपछि होटल तथा रेस्टुराँ व्यवसायमा लगानी बढेको हो । यसै वर्ष नयाँ भवन निर्माण गरेर एट्याच बाथरुम र एसीसहित छ वटा कोठा थप गरेको बेनीको होटल यतीका सञ्चालक पूर्ण गौचनले बेनीमै गत महिनादेखि अर्को नयाँ होटल सञ्चालनमा ल्याउनुभएको छ ।रु ५० लाखको लगानीमा बेनीको पिपलचोकमा स्थापना भएको होटल हिल भ्युको क्षमता ५० जनाको छ । सो होटलमा रहेका १७ वटा कोठामा एसी, टिभी, फ्रि वाइफाइ र तातोपानीको सुविधा छ ।
तालिम हल र पार्किङको सुविधा पनि रहेको सो होटलले आफ्नै गाडीबाट पाहुनालाई यातायात सेवा दिने व्यवस्था मिलाएको छ । “सात जनाले रोजगारी पाएका छन्” गौचनले भन्नुभयो “आरामदायी र सुविधायुक्त कोठाको साथै थकाली खानाका परिकार होटलको मुख्य विशेषता हो ।” । केही वर्ष पहिले असोज, कात्तिक, चैत र वैशाखमा आउने पाहुनाले बास नपाउने समस्या थियो । होटलले क्षमता बढाएपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात कटाउनुपर्ने समस्या कम हुँदै गएको होटल तथा रेस्टुराँ व्यवसायी सङ्घका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो ।पोखरा, काठमाडौँ, चितवनलगायत ठूला सहरमा रहेका होटल सरहको सेवा प्रवाह भइरहेको अध्यक्ष पौडेलको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७३